प्रबिधि डेस्क, अनलाइनखबर डटकम
चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले हालै पायोनियर ६ मोडलको फोन सार्वजनिक गरेको छ । मध्यम आम्दानी भएका ग्राहकलाई लक्षित गरिएको यो फोनमा धेरै यस्ता फिचरहरु छन जुन प्रिमियम फोनमा मात्र उपलब्ध हुन्छन् । आज हामी तपाईलाईं जियोनी पायोनियर ६ को डिजाइन, डिस्प्ले, क्षमता र प्रस्तुतीबारे विस्तृत समिक्षा प्रस्तुत गर्दै छौं :-
डिजाइन र डिस्प्ले
जियोनी पी सिक्सको डिजाइन यही मूल्य हाराहारीका अन्य फोनभन्दा निकै उत्कृष्ट लाग्छ । प्लास्टिक कभरयुक्त पी सिक्सको डिजाइन हेर्दा महंगो मूल्यका फोनको झल्को आउँछ ।
ग्लोसी डिजाइन र प्लास्टिक कभरयुक्त भएपनि चौकुनाको बिचमा एउटा सानो मेटल लाइनले फोनलाई निकै आर्कषक देखाएको छ । १५० ग्राम तौल भएको यो फोनको मोटाई ८.६ एमएम छ ।
फोनको दायाँ साइडमा पावर अन/अफ बटन र भोल्युम बटन राखिएको छ । फोन खोलेर हेर्नुभयो भने तपाइले देख्नुहुनेछ एउटा सुन्तला रंगको ब्याट्री, दुईवटा माइक्रो सिम राख्ने ठाउँ र माइक्रो एसडी कार्ड स्लट ।
५ इन्चको स्क्रिन रहेको पी ६ मा ४८०x ८५४ पिक्सेल क्षमता रहेको छ । सामान्यतयाः जियोनी आर्कषक डिस्प्लेका लागि प्रख्यात भए पनि यो सेटमा जियोनीले आफ्नो ख्यातीलाई कायम राख्न सकेको देखिन्न ।