प्रबिधि डेस्क, अनलाइनखबर डटकम
चिनियाँ मोबाइल उत्पादक कम्पनी जियोनीले हालै पायोनियर ६ मोडलको फोन सार्वजनिक गरेको छ । मध्यम आम्दानी भएका ग्राहकलाई लक्षित गरिएको यो फोनमा धेरै यस्ता फिचरहरु छन जुन प्रिमियम फोनमा मात्र उपलब्ध हुन्छन् । आज हामी तपाईलाईं जियोनी पायोनियर ६ को डिजाइन, डिस्प्ले, क्षमता र प्रस्तुतीबारे विस्तृत समिक्षा प्रस्तुत गर्दै छौं :-
डिजाइन र डिस्प्ले![gionee front back](https://lh3.googleusercontent.com/blogger_img_proxy/AEn0k_u0d3u_YBwPk2wF3p7q4XX44K6TD76ETZMzIV-KutbdjRSr35aiUxQiS7eDtcK5VyPiuj9cLM27bAoe3lM6jNfa1TqWDIPs7rN9ikshJ_ZYgnZFJin4Qgr6ewW22phS8B2PYPGpTfu48zZdDrbmHg=s0-d)
जियोनी पी सिक्सको डिजाइन यही मूल्य हाराहारीका अन्य फोनभन्दा निकै उत्कृष्ट लाग्छ । प्लास्टिक कभरयुक्त पी सिक्सको डिजाइन हेर्दा महंगो मूल्यका फोनको झल्को आउँछ ।
ग्लोसी डिजाइन र प्लास्टिक कभरयुक्त भएपनि चौकुनाको बिचमा एउटा सानो मेटल लाइनले फोनलाई निकै आर्कषक देखाएको छ । १५० ग्राम तौल भएको यो फोनको मोटाई ८.६ एमएम छ ।
फोनको दायाँ साइडमा पावर अन/अफ बटन र भोल्युम बटन राखिएको छ । फोन खोलेर हेर्नुभयो भने तपाइले देख्नुहुनेछ एउटा सुन्तला रंगको ब्याट्री, दुईवटा माइक्रो सिम राख्ने ठाउँ र माइक्रो एसडी कार्ड स्लट ।
५ इन्चको स्क्रिन रहेको पी ६ मा ४८०x ८५४ पिक्सेल क्षमता रहेको छ । सामान्यतयाः जियोनी आर्कषक डिस्प्लेका लागि प्रख्यात भए पनि यो सेटमा जियोनीले आफ्नो ख्यातीलाई कायम राख्न सकेको देखिन्न ।
सफ्टवेयर
एन्ड्रोइड किटक्याट ४.४ अपरेटिङ सिस्टमयुक्त यो फोनमा १.३ गिगाहर्जको क्वाडकोर प्रोसेसर प्रयोग गरिएको छ । १ जीबी र्याम र ८ जीवी आन्तरिक स्टोरेज क्षमता छ ।
८ जीबीमध्ये ४ जीबीचाहिँ सफ्टवेयर र पहिले नै इन्स्टल गरेका एप्सले ओगटिसकेको हुन्छ । त्यसैले तपाईलाई फाइल स्टोर गर्न ४जीबीमात्र बच्ने छ । त्यसैले तपाईले ३२ जीबीसम्मको माइक्रो एसडी कार्ड राखेर क्षमता बढाउन सक्नुहुन्छ ।
क्यामेरा
पछाडीपट्टी ५ मेगापिक्सेल र सेल्फीका लागि अगाडीपट्टी २ मेगापिक्सेलको क्यामेरा छ । दुवै क्यामेरामा फ्लास जडित छ, तपाईले कमजोर प्रकाश भएका ठाउँमा पनि सेल्फी खिच्दा चिन्ता लिनुपर्दैन् ।
हेर्नुहोस् भिडियो रिभ्यु
मध्यमस्तरीय बजेट फोन भएकाले तपाईले डिजिटल प्रयोग खासगरी सामाजिक संजालका तस्वीर खिच्न यो क्यामेरा ठिकै छ । तुलनात्मकरुपमा कम प्रकाशयुक्त ठाउँमा भिडियो र तस्वीर खिच्दा त्यति राम्रो आउँदैन् । सेल्फी क्यामेरा भने तुलनात्मकरुपमा राम्रो छ ।
नजिकबाट खिचिने भएकाले यसमा रहेको फ्लासले राम्रो तस्वीर खिच्नका लागि पर्याप्त प्रकाश पुग्छ । यति सस्तो फोनमा फ्लास सेल्फी क्यामेरा हुनु निकै राम्रो हो ।
यदि तपाईले निकै ठूला गेमहरु चलाउनुहुन्न भने यसको मूल्यका आधारमा पी ६ को पर्फमेन्स राम्रै मान्नुपर्छ । तर, ठूलो क्षमताको गेम चलाउनुहुन्छ र धेरै एप्स इस्टल गर्नुहुन्छ भने कहिलेकाहीं ह्याङ हुनसक्छ । ठूला गेमका लागि प्रिमियम क्लास फोन नै उपयुक्त हुन्छ ।
पी सिक्समा प्रयोगकर्तालाई चाहिने सवैजसो एपहरु इन्स्टल गरिएको छ । गुगल सर्च, फेसबुक, ट्वीटर, वीच्याट लगायतका सामाजिक संजाल उपलब्ध छन् भने टर्च लाइट, एफएम रेडियो लगायतका युटिलिटी एपहरु र गेमहरु पनि इन्स्टल गरिएका छन् ।
नेटवर्क, साउण्ड लगायतमा पनि पी सिक्स अब्बल नै छ । स्पिकर क्वालिटी राम्रो छ । ब्याट्री पर्फमेन्स पनि राम्रो छ । रिभ्युका लागि फोन चलाउँदा हामीले फुल चार्ज भएपछि करिव ९ घण्टा ब्याट्री टिकेको पायाैं । यसलाई औसत एक दिन नै मान्न सकिन्छ । यो श्रेणीको फोनमा पी सिक्सको ब्याट्री क्षमता र प्रस्तुतीलाई उत्कृष्ट मान्नुपर्छ । दुई देखि तीन घण्टामा फोन पूर्ण चार्ज भइसक्छ ।
मुख्य विशेषताहरू
सिष्टम | विशेषता |
---|---|
डिस्प्ले | ५ इन्च |
प्रोसेसर | १.३ गिगाहर्ज |
र्याम | १ जीबी |
स्टोरेज | ८ जीबी |
थप्न सकिने कार्ड | माइक्रो एसडी ३२ जीबीसम्म |
क्यामेरा | ५ मेगापिक्सेल |
सेल्फी क्यामेरा | २ मेगापिक्सेल |
ब्याट्री क्षमता | १९५० एमएएच |
रङ | कालो र सेतो |
अपरेटिङ सिस्टम | एन्ड्रोइड किटक्याट (४.४) |
निःशुल्क | चार्जर, केवल, हेडफोन, स्क्रिन कभर र फोन कभर र फोन स्ट्याण्ड |
मूल्य | १४३९८ |
सीम | माइक्रो सीम २ वटा |
अन्य सुबिधा | ब्लुटुथ, थ्रीजी, वाइफाई, एफ एम रेडियो, |
यसबाहेक पी सिक्समा हेडफोन, चार्जर, स्क्रिन गार्ड, फोन कभर र फोन स्टाण्ड सित्तैमा पाइन्छ । जियोनी फोन स्टाण्ड अन्य प्रतिस्पर्धी फोनमा भन्दा निकै युनिक छ र बोक्न पनि सजिलो । हेडफोन एभरेज छ, आवाज घटाउने बढाउने सुबिधा छैन, यदि राम्रो क्वालिटीको हेडफोन चाहिए तपाईले थर्ड पार्टी हेडफोन किन्नु राम्रो ।
फैसला
सामान्यतयाः जियोनीले कम मूल्यका सेटमा पनि पि्रमियम क्लासका फोनको सुबिधा दिने गर्छ । पी सिक्सको हकमा पनि थुप्रै नयाँ फिचर छन जुन यही मूल्यका अन्य ब्राण्डमा पाउन सकिन्न । जस्तो सेल्फी फ्ल्यास क्यामेरा, उत्कृष्ट डिजाइन र ब्याट्री लाइफ पी सिक्सका सवैभन्दा आर्कषक फिचर हुन् । १४ हजार ४ सय रुपैयाँको फोनमा तपाईले २० हजार रुपैयाँभन्दा माथि पर्ने भब्यता पाउनुहुन्छ ।
कमजोर पक्षको कुरा गर्दा र्फममेन्स पहिलो नम्बरमा पर्छ । तर, यही मूल्यका सूचीका अन्य फोनको तुलनामा भने धेरै कमजोर हैन् । जियोनीको बिशेषज्ञताअनुसार डिस्प्ले क्वालिटीमा पनि मेन्टेन नभएको देखिन्छ ।
४८० पिक्सेलको स्क्रिनलाई बढाएको भए हेभी गेम खेल्न पनि सहज हुन्थ्यो । डिस्प्ले क्वालिटीमा पनि अब्बल बन्न सकेको भए यो श्रेणीमा सवैभन्दा उत्कृष्ट फोन सावित हुन सक्थ्यो ।
समग्रमा तपाईले जुन मूल्यमा यो फोन किन्नुहुन्छ, त्यसका आधारमा यो फोनलाई उत्कृष्ट नै मान्नुपर्छ । खासगरि नेपाली बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी सेटले यही मूल्यका श्रेणीमा जे जस्ता सुबिधा दिएका छन, त्यसको तुलनामा तपाईले जियोनी पी ६ मा थप सुबिधा र भब्यता पाउनुहुन्छ । भब्य डिजाइन, फ्लास क्यामेरा र उत्कृष्ट ब्याट्री लाइफका कारण यो फोन तपाईले पक्कै मन पराउनुहुनेछ ।
- See more at: http://www.onlinekhabar.com/2015/06/286487/#sthash.q0oSLrl4.dpuf
No comments:
Post a Comment